जब चिनको वुहान शहरबाट कोभिड–१९ रोग संसारभर फैलिएर महामारीको रुप लियो तब गण्डकी प्रदेश सरकार पनि महामारीको व्यवस्थापनमा होमियो । गण्डकी प्रदेशमा बढ्दै गएको कोरोना भाईरस रोग (Covid 19) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गण्डकी प्रदेश सरकारले विभिन्न उपायहरु खोजि रहेको थियो । यसै क्रममा मिति २०७६ साल चैत्र ३० गतेको मन्त्रिपरिषद्को बैठकले पोखरा महानगरपालिका वडा नं.–३० मोहोरियामा स्थानीय समुदायबाट संचालन गरिरहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा ल्याउन तत्कालिन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भयो । यस निर्णयसँगै लेखनाथ सामुदायिक लायन्स अस्पताल गण्डकी प्रदेश सरकारको स्वामित्वमा आएर प्रादेशिक अस्पतालको रुपमा स्थापना हुने प्रक्रिया शुरु भएको थियो । यस क्रममा बिभिन्न चरणमा वैठक भई मिति २०७७ श्रावण ०१ गते सामाजिक विकास मन्त्रालय र सामुदायिक अस्पताल व्यवस्थापन समितिबीच सम्झौता भई सोही मितिदेखि गण्डकी प्रदेश सरकारमा स्वामित्व हस्तान्तरण भई आएको र मिति २०७७ साल भाद्र ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नामाकरण गरि “संक्रामक तथा सरुवा रोग अस्पताल” राखिएकोले सोही मितिदेखि संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । यस अस्पतालको स्थापना भएसँगै दीगो व्यवस्थापन गर्न मिति २०७७ साल असोज २६ गते संक्रामक तथा सरुवा रोग अस्पताल संचालन तथा व्यवस्थापन समिति (गठन आदेश) गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरी सोही बमोजिम संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समिति क्रियाशिल रहेकोे छ ।